Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १० गते ।

नेकपा एमालेका नेता महेश बस्नेतको आगमनविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजी समूह र युवा संघका नेता–कार्यकर्ताबीच धनगढीमा झडप भएको छ। बस्नेत धनगढी आउने सूचना सार्वजनिक भएपछि जेनजी युवाहरूले जेनजी चोकमा कालोपट्टी बाँधेर र प्लेकार्डसहित विरोध प्रदर्शन सुरु गरेका थिए।

यसैक्रममा धनगढी विमानस्थलबाट बस्नेतलाई मोटरसाइकल स्कटिङ गर्दै ल्याइरहेका युवा संघका कार्यकर्ताहरू जेनजी चोक पुगेपछि उनीहरूले नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई लखेटेका थिए। युवासंघको प्रतिकारका क्रममा जेनजीकी सरिता जोशी घाइते भएकी छन्। उनको हातमा चोट लागेको र निसर्ग अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

बस्नेत एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन्। उनी आउने जानकारी पाएपछि जेनजी समूहले ‘गुण्डुको गुण्डा गो ब्याक’ र ‘जेनजीको रगतसँग खेलवाड बन्द गर’ जस्ता नारासहित सडकमा विरोध गरिरहेका थिए।

नेता बस्नेतको सुरक्षा र जेनजी समूहको प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षा व्यवस्था मिलाइएको छ। कैलाली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम तय भएकाले जेनजी युवाहरू सोही मार्गअन्तर्गत पर्ने जेनजी चोकमा विरोधमा उत्रिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *