सामाजिक फीड-
जनकपुरधाम, मंसिर १ गते ।
नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरू हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा सोमबारदेखि दोस्रो संस्करणको एनपिलएल सुरू हुन लागेको हो। मंसिर २७ गतेसम्म चल्ने एनपीएलमा ८ फ्रेञ्चाइज टोलीबीच खेल हुने छ।
एनपिएलमा जनकपुर बोल्ट्स, विराटनगर किंग्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले भिड्नेछन्।
उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच आज अपराह्न ४ बजेदेखि सुरू हुनेछ। जनकपुर बोल्ट्समा कप्तान अनिल साह हुन भने टोलीमा विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी९ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था ९विकेटकिपर०, वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, आसिफ शेख, रुपेश सिंह, इमरान ताहिर र मयन यादव छन्।
काठमाडौं गोर्खाजका कप्तान करण केसी हुन्। काठमाडौँको टोलीमा केसीसँगै मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, नटराजन शाह, भीम शार्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), र सन्तोष यादव छन्।
आज अपराह्न ४ बजेदेखि सुरू हुने एनपीएल पहिलो पटक फ्लडलाइटमा खेलाइनेछ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले फ्लड लाइटमा खेलाउनका लागि राम्रो म्यानपावर र ब्याकअप पनि तयार गरिएको बताए । उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको संघले जनाएको छ।
एनपीएलको दोस्रो संस्करणको उदघाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ रहेको छ भने प्रिमियम टिकट मूल्य १५ सय रूपैयाँ तोकिएको छ।
अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ र प्रिमियमतर्फ १ हजार रूपैयाँ रहेको जनाइएको छ । यस्तै प्लेअफ र फाइनलको खेलमा साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रूपैयाँ टिकट रहेको छ। सिजनभरीकै पास किन्न चाहनेका लागि १५ हजार रूपैयाँ मूल्य तोकिएको छ।
आठ टोलीबीच प्रतियोगिताको समूह चरणमा २८ खेल हुने तालिका रहेको छ ।
पहिलो संस्करणमा जनकपुर बोल्टसले उपाधि जितेको थियो ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।