सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १७ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका-८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका-५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो ९प्रेम महतो० रहेका छन्।
ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार राति करिब साढे ८ बजे उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, उनीहरू मधेस प्रदेश ०५-००१ प ०३९१ र बीआर ०६ सीएन ५२ नम्बरका दुई मोटरसाइकलमा आएका थिए र स्थानीयहरूसँग सवारी बिक्रीको लागि कुरा गरिरहेका थिए। शंका लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो। विजयपुर चोकबाट करिब १०० मिटर पूर्व रमेश भट्टराईको घर नजिकैबाट दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।