Samajik Feed – News Portal from Nepal

समाजिक फीड
जनकपुरधाम, कात्तिक १४ गते ।

जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटपाट गरी बेच्ने पाँच जना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौंसहित विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका–१५ का २५ वर्षीय राजन देउला, भारतको सितामणिका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय प्रभात मल्ल छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मल्ल हतियार खरिद गर्ने व्यक्ति हुन्। कृष्ण गुरुङ पेस्तोल लुटपाटमा संलग्न रहेको र बाँकी तीन जना बिक्री प्रक्रियामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले उनीहरूबाट एक थान पेस्तोल, त्यसको म्यागजिन र १५ राउण्ड गोली समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *