सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।
जल तथा मौसम विभागको चेतावनीपछि मधेस प्रदेशमा सुरक्षा निकायहरू उच्च तयारी अवस्थामा रहेका छन्। विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म प्रदेशमा मध्यमदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जोखिमपूर्ण बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सर्न प्रदेश सरकारले आग्रह गरेको छ।
बुधबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बसेको प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पूर्ण सतर्क रहन निर्देशन दिएका छन्।
बैठकमा मुख्यमन्त्री सोनलले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ बिहीबार दिउँसो नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताउँदै त्यसबाट हुन सक्ने क्षतिलाई न्यून गर्न सर्वसाधारणलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरे।
उनका अनुसार, बागमती, रातो, लखनदेही, कमला र सप्तकोशी नदीका किनारका बस्तीहरू उच्च जोखिममा छन्। सोनलले नदी छेउका बासिन्दालाई विशेष सतर्कता अपनाउन र नजिकका सार्वजनिक भवन वा उच्च स्थानमा सर्न अनुरोध गरे।
मुख्यमन्त्रीले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले सम्पूर्ण जनशक्ति र स्रोत–साधन परिचालन गर्ने बताएका छन्। उनले तीनै तहका सरकारका प्राविधिक जनशक्ति सक्रिय रूपमा संलग्न हुने जानकारी दिँदै गैर–सरकारी संस्थाहरूलाई पनि सम्भावित विपद् व्यवस्थापनमा सहयोग र सचेतना फैलाउन आग्रह गरे।
कृषकलाई उद्देश गर्दै मुख्यमन्त्री सोनलले भने, “धान काटिसकेको भए तुरुन्त भित्र्याउनुस्, बाँकी खेतबाली जोगाउन आवश्यक तयारी गर्नुहोस्।”
उनका अनुसार, “नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका उद्धार टोलीहरूलाई जोखिम क्षेत्र नजिक तयारी अवस्थामा राखिएको छ। आवश्यक पर्ने डुंगा र लाइफ ज्याकेटहरू तयारी अवस्थामा छन्, र संघ तथा स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको छ।”
मुख्यमन्त्री सोनलले प्रदेशवासीलाई सम्भावित प्राकृतिक विपद्को समयमा उच्च सतर्कता अपनाउन र जोखिम क्षेत्रमा रहेका नागरिकलाई तात्कालिक रूपमा सुरक्षित स्थानमा सर्न पुनः अपिल गरेका छन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।