सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ७ गते ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले गत कात्तिक ३ गतेदेखि सुनको नयाँ मूल्य तोकेको छैन। सो दिन प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको थियो। त्यसयता लगातार सार्वजनिक बिदा परेकाले मूल्य अद्यावधिक हुन सकेको छैन।
उक्त अवधिमा भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएको छ। गत मंगलबार सुनको मूल्य एकैदिनमा ६ प्रतिशतभन्दा बढीले घटेको थियो। महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, “त्यो दिन सार्वजनिक बिदा नभएको भए, नेपालमा पनि सुनको मूल्य करिब १८ हजार रूपैयाँले घट्ने सम्भावना थियो।”
सोमबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ४,३८१ डलरसम्म पुगेको थियो, तर मंगलबार ६.३ प्रतिशतले घटेर ४,०८२ डलरमा झर्यो। द फाइनान्सियल टाइम्स का अनुसार यो सन् २०१३ अप्रिलपछिको सबैभन्दा ठूलो एकदिने गिरावट हो।
हाल सुनको मूल्य फेरि क्रमशः घट्दो क्रममा छ। बुधबार बजार बन्द हुँदा प्रतिऔंस मूल्य ४,०९७ डलर थियो भने बिहीबार ४,०२६ डलर र शुक्रबार ४,०५६ डलरमा कारोबार भएको गोल्ड प्राइस डटकमले जनाएको छ। यस आधारमा आइतबार नेपालमा सुनको मूल्य १५ हजार रूपैयाँभन्दा बढीले घट्न सक्ने अनुमान गरिएको छ।
बज्राचार्यका अनुसार, पछिल्ला महिनाहरूमा सरकारी ऋण वृद्धि, अमेरिकी डलरको कमजोरी र डोनाल्ड ट्रम्पको व्यापार युद्धका कारण लगानीकर्ताहरूले सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित हुँदा मूल्य बढेको थियो। साथै, विश्वका केन्द्रीय बैंकहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डार गर्दै आएका कारण पनि मूल्य उच्च रहँदै आएको थियो।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।