सामाजिक फीड-
जनकपुरधाम, मंसिर ४ गते ।
धनुषाबाट शैक्षिक भ्रमणका लागि इलामको कन्याम पुगेर र्फिरहेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका ३ कोलबुङमा सडकबाट करिब ३ सयमिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा धनुषाधाम नगरपालिका ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् ।
बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।