जनकपुरधाम, ०३ मंसिर । रानीपोखरीमा छठ पर्व मनाउन नदिइएको भन्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आक्रोश व्यक्त गरेका छन् । डा. राउतले काठमाडाैँका मेयर बालेन्द्र साहलाई संकेत गर्दै शासकीय अहंकार पालेको भए समय आएपछि जवाफ दिने भनेर चेतावनी दिएका हुन् ।
राउतले आफ्नो सचिवालयको फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘पुरातात्त्विक संरक्षण कारण हो भने त केही छैन, तर शासकीय अहंकार हो भने यसको जबाब पक्कै पनि समय आए पछि दिने नै छन् ।’
पुत्रवियोगमा शाेकमा रहेकी रानीलाई खुशी पार्न राजा प्रताप मल्ले रानीपोखरी बनाएको इतिहास कोट्याउँदै उनले लेखेका छन्, ‘मधेशी राजा/रानीद्वारा ई. १६६७ मा, हात्तीद्वारा कुल्चेर आफ्नो पुत्र चक्रवतेन्द्र मारिएको पुत्रशोकको कारणले, बनाउन आदेश दिइएको #रानी_पोखरीमा आज मधेशीहरूले आफ्नो पुत्रहरूको दीर्घायुको लागि #छठ #व्रत बस्न नपाउँदा पक्कै पनि खिन्नताको बोध गरेका छन् ।’
डा. राउतले काठमाडौँमा रहेका ऐतिहासिक दरबारदेखि टुँडालसम्म मधेशीहरूले बनाएको भन्दै काठमाडौँको स्वर्णिम काल नै मधेशीहरूले ल्याएको दाबीसमेत गरेका छन् ।
