काठमाडौँ, ३० कार्तिक । हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी–२० क्रिकेट शृंखलामा नेपाल दोस्रो खेलमा आयोजक हङ्कङसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । नेपालले लगातार दोस्रो हार ब्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुनुअघि ५६ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको घरेलु टोली हङ्कङले भने नौ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
यसअघि बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । जारी शृंखलामा सहभागी चारवटै टोलीले दुई—दुई खेल खेलिसक्दा सतप्रतिशत नतिजा निकालेको हङ्कङ चार अंकसहित पहिलो र समान अंक जोडेको तान्जनिया दोस्रो स्थानमा आसिन छन् । नेट रन रेटमा तान्जनियाभन्दा हङ्कङ अगाडि छ ।
हालसम्म खाता खोल्न नसकेको नेपाल तेस्रो र जापान चौथो स्थानमा छन् । नेपालले आफ्नो तेस्रो खेल शनिबार जापानसँग खेल्नेछ । सोही दिन तान्जनिया र हङ्कङबिच अर्को खेल हुनेछ । नेपाल र जापान दुवै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेकाले यी दुई टोलीले अब तेस्रो र चौथो स्थानका लागि आइतबार भिडने छन् ।