काठमाडाैँ, २८ कार्तिक । मंगलबार बेलुकासम्म टिकटक पूर्ण रूपमा बन्द हुने भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सरकारी निर्देशनअनुसार आज दिउँसाे १ बजेपछि टिकटक बन्द गर्न थाल्ने जानकारी दिएका हुन् । यस बारेमा आजै इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानको बैठक बसेर छलफलसमेत गरिएको थियो ।
जसअनुसार उनीहरूले सामूहिक रूपमा नै १ बजेदेखि क्रमशः टिकटकमा रोक लाग्ने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालभित्र टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सोहीअनुसार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई टिकटकमा पहुँच बन्द गर्न निर्देशन दिएको थियो । टिकटक एपमा पनि पहुँच रोकिने भएको छ ।
नेपाल टेलिकमले भने सोमबार बेलुकादेखि नै टिकटकमा पहुँच गर्न रोक लगाइसकेको छ । आइस्पानका सीईओ सुभाष खड्काले सरकारको निर्देशन पालना गर्न सबै सेवा प्रदायकहरूले प्राविधिक काम गरिरहेको र बेलुकासम्म निर्देशन पूर्ण कार्यान्वयन हुने बताएका छन् ।
सेवा प्रदायकहरूले टिकटकको डीएनएस बन्द गरेसँगै टिकटकमा पूर्ण रोक लाग्नेछ। सेवा प्रदायकहरूकाअनुसार टिकटकको ‘लोकल क्यास सर्भर’ नेपालमा नभएको र अकामाईको क्यास सर्भरमा निर्भर रहेको हुँदा डीएनएस बन्द गरेसँगै टिकटकमा पहुँच ठप्प हुनेछ।
धन्नेबाद टिकटक