काठमाडौँ, २७ कात्तिक । सरकारले सरकारी कागजातमा विक्रम सम्तवसँगै नेपाल सम्वत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले भोलिदेखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् ११४४ समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं ९३७ (ई.सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । त्यसैले यसलाई नेपालको मौलिक संवतको रूपमा लिइन्छ । इतिहासका जानकारहरूका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म चलेको थियो । लिच्छविकाल अघि भने शक संवत् प्रचलनमा थियो ।
कात्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा छ । २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवतको नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायतका नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ । गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालमा सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।