रौतहट, २७ कार्तिक । रौतहटमा चक्कु प्रहारबाट घाइते एक युवकको मृत्यु भएको छ । शुक्रवार चक्कु प्रहारबाट गम्भीर घाइते भएका राजदेवी नगरपालिका–६ का २० वर्षीय राहुल साहको उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रवार नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालय मुडवालबाले गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा विवादपछि झडप भएको थियो । यही झडपमा परेर साह गम्भीर घाइते भएका थिए ।
स्थानीय नागेन्द्र साहका छोरा राहुल र सोही ठाउँका उमेश साह बानियाको २० वर्षीय छोरा राहुल गुप्ताबीच विवाद भएको थियो । विद्यालय कम्पाउन्ड बाहिर भएको विवादमा गुप्ताले साहको पेट तथा छातीमा छुरा प्रहार गरी घाइते बनाएका थिए । घाइते साहलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल वीरगञ्ज लगिएको थियो । सोमबार बिहान उनको मृत्यु भएको परिवारजनले जनाएका छन् ।