झापा, २५ कार्तिक । झापाको कन्काइमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले चलाएको जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति कन्काइ नगरपालिका–८ बिरिङ पुलमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार झापाको कमल गाउँपालिका–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते छन् । मे. १ च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे. १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक ५१ वर्षीय भीमबहादुर दाहाललाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।