काठमाडाैँ, २४ कार्तिक । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । विश्व मुटु दिवसको अवसर पारेर डा. अनिलले २९ सेप्टेम्बर २०२३ आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन् ।
फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा डा. ओम मूर्तिले गिनिज वर्ल्ड रेकर्डस् कायम गरेका हुन् । असोज १२ गते साँझ ७ : १५ बजेदेखि सुरु भएको आधा घण्टा लामो प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक लाइभ हेरेका थिए। आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा देश र विदेशमा बस्ने नेपालीहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका थिए ।
डा. ओम मूर्तिको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए। त्यसक्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएको थिए। फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए। लाइभ प्रस्तुतिपछि ‘गिनिज वर्ल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा. अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गरेका थिए। यद्यपि, डा. ओम मूर्तिलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाण पत्र प्राप्त गर्न भने केही समय लागेको थियो। त्यस्तै, डा. अनिलले दोश्रो विश्व रेकर्ड पनि मार्च २०२३ मा बनाएका थिए ।
सन् २०१३-१४ मा इमेज एफ. एम. १०३.६ मेगाहर्जबाट अतिथि वक्ताको रूपमा लगातार ४४ हप्ताको इपिसोड गरेर हृदय रोग रोगथाममा अतिथि वक्ताको रूपमा सबैभन्दा लामो रेडियो अन्तर्वार्ता भन्ने शीर्षकमा विश्व रेकर्ड कायम गरेका थिए । जसमा कार्यक्रमको प्रस्तोता वरिष्ठ संचारकर्मी शैलजा सिंहले गरेकी थिइन् । यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो ।