काठमाडाैँ, २३ कार्तिक । आरती साहलाई न्याय दिलाउन आम जनता पार्टीको नेतृत्वमा राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापन पत्र बुझाइएको छ । बिहीबार आजपा उपाध्यक्ष तिलक थापाको नेतृत्वमा पीड़ित परिवारसहितको टोलीले ललितपुरको हरिहरभवनस्थित आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएको हो ।

एक सय ४७ दिनदेखि माइतीघर मण्डलामा संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउँदै आजपाले माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम-९ थापाचोकमा २४ वर्षीया आरती मृत अवस्थामा फेला परेकी थिइन् ।

आरती र मोतीबाबु साहबीच २९ असार २०७७ मा विवाह भएको थियो । तर दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी रहँदै आएको छ । यता, दोषीलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनीलगायत चार महिनादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् ।