एजेन्सी, २२ कार्तिक । भारतीय र्यापर हनी सिंह र सालिनी तलवारले सम्बन्ध विच्छेद गरेका छन् । विवाह गरेको १२ वर्षपछि उनले श्रीमती सालिनीसँग सम्बन्ध विच्छेद गरेका हुन् । दिल्लीको परिवारिक अदालतले उनीहरूलाई सम्बन्ध विच्छेद गर्न अनुमति दिएको हो ।
साढे २ वर्षदेखि उनीहरूको सम्बन्ध विच्छेद मुद्दा अदालतमा चलिरहेको थियो । सालिनीले हनीविरुद्ध घरेलु हिंसाको आरोप लगाएकी थिइन् । उनले हनी सिंह र उनको परिवारबाट पटक-पटक शारीरिक, मानसिक र भावनात्मक दुर्व्यवहारमा परेको बताएकी थिइन् ।
उनका अनुसार उनले आफ्नो विवाहको फोटो सामाजिक सञ्जालमा हालेको ठानेर रिसमा हनी सिंहले निर्दयी ढंगले पिटेका थिए । हनी बाहिर अन्य महिलासँग पनि सम्बन्धमा रहेको र ‘ब्राउन रङ दे गीत’ को सुटिङको क्रममा एक महिला सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको सालिनीले दाबी गरेकी थिइन् । यसैविरुद्ध उनले १० करोड भारू क्षतिपूर्तिको माग गरेकी थिइन् ।
केही समयपछि दुवै पक्षबीच सहमति भएपछि सालिनीले मुद्दा फिर्ता लिएकी थिइन् । अदालतले हनीलाई सालिनीसँग आफ्नो वैवाहिक सम्बन्धलाई अर्काे अवसर दिन चाहन्छौं भनेर सोध्दा हनीले सालिनीसँग बस्नु कुनै औचित्य नभएको बताएका थिए । हनी र सालिनीले सन् २०११ मा विवाह गरेका थिए ।