काठमाडौँ, २१ कार्तिक । काठमाडाैँमा सर्वसाधारणसँग लुटपाट गरेको आरोपमा असईसहित तीन प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् ।
उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुई साताअघि तीन महिला र एक पुरुषसँग उनीहरूले लुटपाट गरेका थिए । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका सर्वसाधारणलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएका थिए ।
सीआरभी (कन्ट्रोल रुम भेहिकल) मा ड्युटी गर्दा उनीहरूले सर्वसाधारणसँग लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पैसा लिएर छाडेपछि पीडितहरूले प्रहरी कन्ट्रोलमा फोन गरेर मौखिक उजुरी दिएका थिए ।