Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २१ कार्तिक । धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ ।

आरती साह मृत्यु प्रकरणको मुद्दा कमजोर बनाउन खोजेको, पीडितहरूलाई कुटपिट गरेकोलगायत आरोप लागेपछि विवादित बनेका प्रहरी उपरीक्षक एसपी खड्कालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको हो ।

गृह मन्त्रालयको निर्देशनपछि उनलाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको उपप्रधान एवं गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिएका छन् ।

जेठ ३० गते आरती साहका परिवारले दिएको बयानमा हेरफेर भएको भन्दै हस्ताक्षर गर्न नमानेपछि झडप भएको थियो । झडपका क्रममा आरती साहकी बहिनी मनिषा, भाइ प्रेम, बुबा विनोदप्रसादमाथि कुटपिट गरेको आरोप पनि एसपी खड्कामाथि छ ।

यसअघि डीएसपी बेदप्रकाश गौतमलाई पनि प्रधान कार्यालय तानिएको थियो । आरती साह मृत्यु प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने, ज्यादती गर्ने एसपीलगायत प्रहरीहरूमाथि कारबाही हुनुपर्नेलगायत माग राखी माइती पक्ष गत असार १ गतेदेखि माइतीघर मण्डलमा धर्ना बस्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *