विराटनगर, १७ कात्तिक । विराटनगरमा भारतबाट तस्करी गरी ल्याइको एक क्वीन्टल चाँदीका गहना बरामद् भएको छ ।
सरकारी टोलीले विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिक विश्वजित जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्समा छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको हो ।
तिहारको धन्तेरसमा बिक्री गर्नका लागि भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर भित्राएको सूचनापछि प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो ।
ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम थियो ।