काठमाडौँ, १६ कार्तिक । राैतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर रामचन्द्र चौधरीसहित चार जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चन्द्रनगर नगरपालिकाका तत्कालीन मेयर चाैधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, लेखा अधिकृत एवम् राजस्व शाखा प्रमुख कीर्तिराज सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत बरैमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप लगाइएको छ । उनीहरूले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिकाअन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको पाइएको छ । उनीहरूले १७ लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचारजन्य कसुर गरेको आयोगको ठहर छ ।
उनीहरूले नदीजन्य पदार्थ अबैध रूपमा उत्खनन् गराई ३७ लाख चौतीस हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा रकम बराबरको अवैध रूपमा अधिक नदीजन्य पदार्थ उत्खनन गराई नगरपालिकालाई उक्त रकम बराबर राजस्व हानिनोक्सानी पुर्याई ५५ लाख दुई हजार एक सय अन्ठानव्वे रुपैया छ पैसा रकम राजस्व चुहावट गरेको अख्तियारको आरोप छ ।