काठमाडौँ, १५ कात्तिक । बाराको कलैयास्थित एक निजी विद्यालयका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । कलैयास्थित बाल एकता बोडिङ्ग स्कूलका सञ्चालक सर्राफको हत्यामा संलग्न आठ जनामध्ये पाँच जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
प्रहरीले कलैया–२ की २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दनकुमार र अभिनवकुमार राजपुतलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण हुन पुगेको देखिएको छ ।
सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध थियो । भारतीय नागरिक चन्दन र अविनवलाई प्रहरीले सुटर समूहको सदस्य भनेको छ भने राधालाई मुख्य योजनाकार भनेको छ । सुटरहरू भने फरार छन् ।
सुटरहरू पनि भारतीय नागरिक हुन् । राधा ३ वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग पनि प्रेम सम्बन्धमा रहेको खुलेको छ । त्यही विषयमा मनोज र मृतक रुपेशबीच विवाद भएको प्रहरीको निष्कर्ष छ । मनोज पनि विवाहित हुन् । उनी पनि फरार छन् ।