सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १५ गते ।
जनकपुरधाममा अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ । यही कार्तिक २२ गतेबाट विश्वका २५ राष्ट्रका आयुर्वेद विज्ञ, चिकित्सकहरूको सहभागितामा सम्मेलन हुन लागेको हो ।
मंगलबार जानकी मन्दिरमा पत्रकार सम्मेलन गरी यस विषयमा आयोजकले जानकारी गराएको छ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीमा रहेको महेन्द्रनारायण निधि मिथिला संस्कृतिक केन्द्रमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने सम्मेलन आयोजक संस्थाका संयोजक डा. राकेश कुमार सिंहले जानकारी दिए ।
ब्रह्म भूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्म भूमि आयुर्विज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने सम्मेलनमा अमेरिका, रुस, जापान, रसिया, युक्रेन, इजरायल, भारत, भूटान, बङ्गलादेश, श्रीलङ्का, अस्ट्रेलिया, जर्मनी सहितका अधिकांश यूरोपेली राष्ट्रहरूको सहभागिता रहने आयोजक एवं सम्मेलनका संयोजक डा. सिंहले बताए ।
कार्यक्रममा आयुर्वेदको वर्तमान अवस्था, भावी रणनीति, नेपालको जडीबुटी, वन, खनिज तथा वन्यजन्तु सहितका विषयमा छलफलका साथै सम्भाव्यताका विषयमा बृहत् छलफल र परामर्श हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए । त्यस अवसरमा नेपालमा आयुर्वेदको क्षेत्रमा लगानीबारे पनि छलफल हुने छ ।