जनकपुरधाम, १४ कार्तिक । बाराको कलैयास्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सर्राफको गोली हानी हत्या भएको घटनाको विरोधमा मधेश प्रदेशका सबै निजी विद्यालय बन्द गरिएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएकएशन (नेशनल प्याब्सन) मधेश प्रदेशको निर्णयमा मंगलबार प्रदेशका सबै निजी विद्यालयमा मंगलबार पठनपाठन बन्द भएको हो ।
एन प्याब्सन मधेशका अध्यक्ष डा. नन्दन यादवले विज्ञप्ति जारी गर्दै दिनदहाडै विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या हुनुले नागरिक सुरक्षित नरहेको र प्रहरी निरीह रहेको प्रमाणित हुने भन्दै घटनाको निन्दा गरेका छन् ।
हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी पीडितलाई न्याय दिलाउन पनि एन प्याब्सनले माग गरेको छ। सोमबार कलैया उपमहानगरपालिका–६ मा प्रिन्सिपल सर्राफको गोली हानेर हत्या गरिएको थियो । घटनामा संलग्न गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
