काठमाडौँ, १३ कार्तिक । जनता समाजवादी पार्टीले मधेश प्रदेशसभामा रिक्त रहेको एक समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
सोमबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले यादवको नाम टुंगो लगाएको हो । सिरहाकी सञ्जिलाकुमारी समाजवादी महिला संघकी मधेश प्रदेश अध्यक्ष पनि हुन् ।
समानुपातिक सांसद् विन्दुकुमारी यादवको गत भदौ २६ गते निधन भएपछि रिक्त पदमा यादवलाई पठाउने निर्णय भएको हो ।
क्यान्सरबाट पीडित विन्दुकुमारीको ४४ वर्षको उमेरमा निधन भएको थियो । उहाँ जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो ।