रौतहट, १० कार्तिक । रौतहटको माधवनारायणमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान काठमाडौँबाट रौतहटको पिप्राबजारतर्फ आउँदै गरेको ना. ६ ख १४६३ नम्बरको बसको ठक्करबाट माधवनारायण नरपालिका–६ का ६५ वर्षीय ब्रम्हदेव दास तत्माको मृत्यु भएको हो ।
दास आफ्नै घर अगाडि धुनी तापेर बसिरहेका बेला बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । तत्मालाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस नजिकै रहेको स्थानीयको घरको भित्तामा ठोक्किन पुगेको थियो ।
त्यसै क्रममा घरधनी फेकु दास र उनकी श्रीमती सुमित्रा देवी घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको छ ।