मुगु, १० कार्तिक । मुगुको छायाँनाथ रारामा एकै परिवारका चार जनाको हत्या भएको छ । छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज बोहोरा, १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको हो ।
घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने प्रहरीको अनुमान छ । आफन्तले श्रीदेवीलाई नभेटेपछि खोज्दै क्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।
श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको प्रहरीले अनुमान गरेको छ । श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाहिर छन् ।
घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् ।