काठमाडौँ, १० कार्तिक । नेपालमा भएको त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको उपाधि यूएईले जितेको छ । नेपाल, यूएई र हङकङबीचको टी-२० क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ। शुक्रबार त्रिवि मैदानमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।
नेपालले ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६१ रन र पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ९५ जोडेको थियो। तर त्यसपछिका ओभरमा भने नेपालले लगातार विकेट गुमाउँदा रनको गति केही रोकिएको थियो । सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो ।
नेपालले यूएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल खेल्दा अपराजित रहन सफल भएको हो । यूएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो । हङकङलाई रनरेटमा पछि पारेर फाइनलमा स्थान पक्का गरेको यूएईले ५ मध्ये २ खेल जितेर उपाधि कब्जा गर्यो । नेपाल भने समूह चरणका चारै खेल जिते पनि अन्तिम खेल फाइनलमा पराजित हुँदा उपाधिबाट बिमुख बन्यो ।
अर्को सातादेखि काठमाडौँमा सुरु हुने टी-२० विश्वकप छनोटअघि नेपालले यूएई र हङकङविरुद्ध टी-२० सिरिज खेलेको हो । विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।