Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

महासचिव गुटेरेसले कार्तिक १२ गते आइतबार काठमाडाैँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । गुटेरेसले कात्तिक १४ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यतालिका छ । उनको भ्रमणका बेला दुवै सदनको संयुक्त बैठक बस्ने छ ।

त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस भ्रमणका क्रममा लुम्बनी र पोखरा पनि जाने बताइएको छ । गुटेरेसको नेपाल भ्रमणका बेला नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ । उनको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौँले जनाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार पहिलो तथा भित्री घेरामा सेना, बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत शुक्रबार संसद सचिवालयलाई पत्र पठाउँदै संसदको संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरिसकेको छ ।

सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको छ । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक कात्तिक १२ गते आह्वान भइसकेको र संसदले इजरायल र गाजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *