जनकपुरधाम, ५ कार्तिक । मधेशका शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा खोइँछ भर्ने र प्रसाद चढाउने श्रद्धालुहरूको भीड लागेको छ । सप्तमीमा फूलपाती विधि सम्पन्न भएपछि सुरु हुने खोइछ भर्ने विधि अष्टमीसम्म जारी रहने गर्छ । अन्य स्थानमा जस्तै जनकपुरधामको राजदेवी मन्दिरमा पनि सप्तमीको मध्यरातिदेखि नै खोइँछ भर्न आउने महिलाहरू लामो लाइन लगेको थियो ।
खोइँछ भर्ने विधि सन्तान र श्रीमानको जीवन रक्षाका लागि गर्ने गरिन्छ । विवाहिता महिलाले दूर्गा भगवतीको अगाडि सफा वस्त्र ओछ्याएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, शृङ्गारका सामग्रीहरू, नौवैद्य, रातो चुनरीसहित राखी खोइँछ भर्ने गर्छन् ।
मिथिलाञ्चलमा नवविवाहितालाई माइतीबाट बिदाइ गरिँदा आफ्नो कूलदेवतालगायत सम्पूणर् परिवारको आशिर्वादस्वरूप खोइँछ भरेर पठाउने गरिन्छ । भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइत आउने, नौ दिनसम्म माइतमै बस्ने र विजयादशमीका दिन ससुराली जाने गर्दछिन् भन्ने मान्यताका आधारमा खोइँछ भर्ने परम्परा रहेको छ । यही मान्यताअनुसार माता दूर्गा भवानीसमक्ष विवाहिता महिलाहरूले खोइँछ भरेर आशिर्वाद लिने गर्छन् ।
खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्मधन्य हुने विश्वास रहेको छ । त्यसैगरी, मन्दिरमा प्रसाद चढाउनेहरू पनि भिड लागेको छ ।