काठमाडाैँ, ३० असोज । राैतहटको माैलापुरकी मेयर रिनाकुमारी साहको पद गुमेको छ । मेयर साहले नेकपा एमाले परित्याग गरेपछि कानुनी व्यवस्थाअनुसार स्वत: उनको पद गुमेको हो ।
उनी एमाले परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् । रिना नेता प्रभु साहकी श्रीमती पनि हुन् । उनी २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन् ।
उनी आम जनता पार्टीमा प्रवेश गरेपछि एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार साहले दल त्याग गरेकाले मेयर पद रिक्त भएको सूचना निकालेको छ ।
