काठमाडाैँ, २९ असोज । काठमाडौँको माइतीघरमा आरती साहको परिवारजनसँग भएको ज्यादतीको विषयमा मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले जानकारी लिएका छन् ।
सोमबार आयोगका अध्यक्ष डा. दत्त वीर अस्पताल पुगेर मृतक आरती साहको परिवारसँग दुई दिनअघि माइतीघर मण्डलामा भएको ज्यातदीको विषयमा जानकारी लिएका हुन् । माइतीघरमा करिब चार महिनादेखि घर्नामा रहेका आरतीका बुवा, आमा तथा भाईसँग प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको थियो । आरतीका बुवालाई ज्वरो आएर बिरामी परेका बेलासमेत प्रहरीले उनीहरूलाई धरपकड गरेको थियो ।
घटनाको विषयमा डाक्टर दत्तलाई जानकारी दिँदै आरतीकी आमा निर्मलादेवी साहले प्रहरीले आफूलाई भारतीय नागरिक भन्दै अश्लील गाली गरेको आरोप लगाइन् ।
उनले भनिन्, ‘एक प्रहरीले मलाई भन्यो तिमी इन्डियामा धर्ना दिए पनि हुन्थ्यो, नेपालमा किन धर्ना दिएको ? अनि मैले भने म इन्डियन छु र !’ । त्यस्तै अर्को प्रहरीले मलाई अश्लिल गाली गरेको पनि उनले आयोगका अध्यक्ष दत्तलाई जानकारी दिइन् ।
आरतीको परिवारसँग भएको ज्यादती विषयमा जानकारी लिएपछि मधेशी आयोगका अध्यक्ष डा. दत्तले अनामनगर प्रहरी चौकी प्रहरीद्वारा उनीहरूमाथि भएको ज्यादती निकै गम्भीर तथा चिन्ताजनक रहेको बताए । मधेशीहरूको कर चल्ने, खाद्यान्न चल्ने तर मधेशीले न्याय पाउन नहुने मनसाय यो घटनाबाट प्रस्ट भएको आयोगको ठहर छ । राज्यको मधेशी समुदायप्रतिको सोच यो घटनाले प्रस्ट पारेको पनि आयोगले जनाएको छ । अध्यक्ष दत्तसँगै प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहसहितको टोलीले आरतीको परिवारलाई भेटेको हो ।