काठमाडौँ, २९ असोज । हमासले गरेको हमलामा परी मृत्यु भएकामध्ये पाँच जनाको शव प्राप्त भएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजदूतावासले विज्ञप्ति जारी गरी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये कैलालीको घोडाघोडी नगरपालिका-४ का नारायणप्रसाद न्याैपानेसहित पाँच जनाको शव प्राप्त भएको जनाएको हो ।
त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका-४ का लोकेन्द्रसिंह धामी, बझाङको जयपृथ्वी नगरपालिका-६ का गणेशकुमार नेपाली, दार्चुलाको लेकम गाउँपालिका- ५ का दिपेशराज विष्ट र कैलाली बौनियाँका आशिष चौधरीको शव पनि दूतावासले प्राप्त गरेको हो । सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण भएको थियो ।
प्राप्त गरेका शवहरू ढिला नगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेकोसमेत दूतावासले जनाएको छ। बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा रहेको पनि दूतावासले जनाएको छ ।
शव प्राप्त हुन बाँकी रहेकामा धनुषा सपहीका आनन्द साह, डोटीको तत्कालीन पचनली गाविस- ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस-८ का पदम थापा, सल्यानको शारदा नगरपालिका-३ का प्रवेश भण्डारी र सुनसरीको तत्कालीन मधुवन गाविस- १ का राजेशकुमार स्वणर्कार छन् । सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी जारी रहेकाे पनि दूतावासले जनाएको छ ।
