बारा, २६ असोज । बाराको जीतपुर सिमराका पूर्वनगरप्रमुख कृष्ण पौडेलको निधन भएको छ । पूर्वनगर प्रमुख पाैडेल बिहीबार साँझ घरमै मृत अवस्थामा भेटिएका हुन् । नेकपा एमालेका मधेश प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल घरभित्र सुत्ने कोठाको भुइँमा लडिरहेको अवस्थामा फेला परेका थिए ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको छ । प्रहरीले घटनाको छानबिन सुरु गरेको छ । परिवारसँग सोधपुछ गर्दा शंकास्पद केही पनि नदेखिएको पनि प्रहरीले जनाएको छ। पौडेल २०७४ को निर्वाचनमा जीतपुरसिमरा नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।
उनले कांग्रेसका कृष्णव्रत सिंहलाई पराजित गरेका थिए । एमाले मधेश प्रदेश कमिटीको सचिव भए पनि जनकपुरधाममा जारी पहिलो अधिवेशनमा उनी सहभागी भएका थिएनन् ।
पछिल्लो समय डिप्रेसनका कारण औषधि खाँदै आएको परिवारले जनाएपछि पार्टीले पाैडेललाई सचिवबाट हटाइएको थिएन । पौडेलका श्रीमती, एक छोरा र छोरी छन् । उनी केही दिनदेखि घरमा एक्लै रहेको पनि खुलेको छ।