Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २५ गते ।

कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमा संवाद समूहले बिहीबार जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवादमा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

सांस्कृतिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर दुबै देशका नागरिकलाई सहज आवतजावतको व्यवस्था गर्नु पर्ने उनको भनाइ थियो । खुल्ला सीमाको कारण बढेको ड्रग्सको कारोबारको चुनौतीले युवाहरू कुलतमा फस्दै गएकोप्रति दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा समेत उनले जोड दिए ।

मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणमा साँझा प्रयासको आवश्यकतामा रहेको बताए ।

नेकपा एमालेका मधेश प्रदेशका उपनेता दीपेन्द्र ठाकुरले नेपालको सच्चा मित्र भारत भएको बताउँदै सीमामा आउने विवादको शान्तिपूर्ण रुपमा समाधान गर्दै सीमा क्षेत्रका नागरिकलाई असहजता उत्पन्न हुने कुनै पनि गतिविधि गर्न नहुने धारणा राखे ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले खुल्ला सीमानाको विषयमा बृहत् समीक्षा हुन जरुरी रहेको बताए ।

भारत सरकारको वीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत शैलेन्द्र कुमारले नेपाल भारत बीचको सम्बन्ध अन्य मुलुकको सम्बन्ध भन्दा फरक भएकाले सिमानामा रहेको भारतीय सीमा सुरक्षा बललाई नेपालीसँग सरल व्यवहार गर्न निर्देशन दिएको बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खुल्ला सीमाका कारणले चोरी पैठारी बढेका कारण सिमावर्ती नेपालका बजारमा कारोबार घटेको चर्चा गर्दै सीमाको व्यवस्थापन वैज्ञानिक एवं मित्रवत् हुनुपर्ने धारणा राखे ।

नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाको अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका कार्यवाहक अध्यक्ष डा. विजय कुमार सिंह, नेकपा माओवादी धनुषाका इन्चार्ज विजयशंकर नायक सहितका वक्ताहरूले सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिन थालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *