काठमाडौँ, २४ असोज । इजरायलमा हमासको हमलामा मृत्यु भएका १० नेपालीको शव ल्याउन केही विलम्ब हुने सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै नेपाल ल्याउन सकिने बताइन् । उनले शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरू इजरायल सरकारको संरक्षणमा सुरक्षित रहेको स्पष्ट पारिन् ।
उनका अनुसार नेपाल फर्कन चाहनेहरूलाई ल्याउन आज राति नेपाल एयरलाइन्सको वाइडबडी विमान त्यसतर्फ पठाइनेछ । प्रवक्ता लम्सालले घाइते अवस्थामा रहेका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको पनि जानकारी दिइन् । अन्य २ जनाको भने उपचार जारी रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बेपत्ता एक जनाको खोजी भइरहेको छ ।