जनकपुरधाम, २५ असोज । इजरायलमा हमासको हमलामा मृत्यु भएका धनुषा सपहीका आनन्द साहको परिवारलाई मधेश सरकारले राहतस्वरूप पाँच लाख दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विज्ञप्ति जारी गर्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय साहको परिवारलाई राहतस्वरूप पाँच लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको हो ।
साथै, मुख्यमन्त्री यादवले मृतक साहको परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले हमलामा ज्यान गुमाउने साहसहित सबैप्रति श्रद्धासुमन पनि व्यक्त गर्नुभएको छ ।
यसअघि, सोमबार संघीय सरकारले मृतक सबैका परिवारलाई १०–१० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
