Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २३ असोज । परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूको शव नेपाल फिर्ता ल्याउन समन्वय र सहजीकरणका लागि इजरायलसँग अपिल गरेका छन् । मंगलबार इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन कुराकानीमा उनले यस्तो अपिल गरेका हुन् ।

मन्त्री साउदले घाइते भएका चार नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन र सम्पर्कविहीन रहेका व्यक्तिको खोजीका लागि पनि कोहेनसँग आग्रह गरेका छन् । साथै, सुरक्षित स्थानमा स्थनानान्तरण गरिएका नेपाली नागरिकहरूलाई खानपिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि उनले मन्त्री कोहेनसँग आग्रह गरेका छन् ।

बंकरमा बसेका केही नागरिकहरूले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेको पनि उनले इजरायल सरकारलाई जानकारी गराएका छन् । कुराकानीमा मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको विवरण आफूहरूले संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताएका छन् ।

मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताएका थिए । मन्त्री कोहेनले १० नेपाली नागरिकको शव नेपाल फिर्ता, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा उच्चतम् सहयोग गर्ने आश्वासन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *