Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २२ गते ।

इजरायलमा हमास लडाकूको आक्रमणमा छोरा आनन्द गुमेको खबरले धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका सोमन साहको परिवार शोकमा डुबेका छन् । चार सन्तान मध्ये सोमनको एकला छोरा आनन्द गत भदौ २६ गते मात्र कृषि अभ्यासका लागि इजरायल गएका थिए । शनिबार इजरायमा प्लास्टिनीको लडाकू समूह हमासले आक्रमण गर्दा मारिने १० नेपाली मध्येमा आनन्द पनि छन् ।

आइतबार साँझ अनन्दको मृत्युको खबरले उनको परिवारजन मुर्छित छन् । आमा शुभकला, हजुर आमा बसमतिया देवी, तीनैजना बहिनी घरीघरी अचेत हुन्छन् । उनीहरुलाई पटक पटक दाँती लाग्छ । छिमेक आफन्तले छुट्टाउँछन् । सम्झाउँछन् । केही बोल्ने अवस्थामा छैनन् ।


आनन्दलाई पढाउन सोमन १० वर्ष खाडीमूलुकमा पसिना बगाए । अब इजरायलबाट पढाइ सकेर फर्केपछि बिहेवारी गरेर घरको जिम्मेबारी आनन्दलाई सुम्पने योजनामा रहेका बुबा सोमन घरीघरी अलि होस् आउँदा बिलाप गर्छन् ‘आब केकरा धके धिरज करब रे बेटा । केना हमरासभके दुख दुरा होतै’

टाँसिएरै घर रहेका छिमेक काका पर्ने मिथिलेश साहका अनुसार आनन्द जनकपुरकै एन्जल्स बोर्डिंग स्कुलबाट एसएलसी पास गरेका थिए । जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर प्लसटु पास गरी सुदुर पश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढे । टिकापुरमा बसेर अन्तिवर्ष पढाई सकाएका उनलाई अभ्यासका लागि कलेजले नै पठाएको थियो ।

बहिनीहरुसंग रक्षबन्धन पर्व हाँसी खुसी मनाएका आनन्द सबै अरआफन्त, छिमेक, इष्टमित्रलाई भेटेर भदौ २७ गते आफूभन्दा जेष्ठबाट आशिर्वाद थाप्दै घरबाट हाथ हल्लाउँदै इजरायलका लागि प्रस्थान गरेका थिए ।


दैनिक कुराकानी गर्ने गरेका थिए । शुक्रबार राति ८ बजेतिर घरपरिवारको अन्तिम कुराकानी भएको थियो । आनन्दले भिडियो कल गर्दा बुबा सोमन बाहिर थिए । आमा र बहिनीहरुसंग लामै कुराकानी भएको थियो । माहिली बहिनी सरस्वतीले आफ्नो खुट्टा अलि सुन्निएको भनेकी थिइन् । उनलाई राम्रो डाक्टरसित देखाएर राम्ररी उपचार गराइदिन आमालाई आनन्दले आग्रह गरेको र पछि बुबासित कुरा गर्ने भनी फोन राखेको काका मिथलेसले सुनाए ।

शनिबार इजरायलमा आक्रमण भएको र केही नेपाली पनि मारिएको खबरले घरपरिवार बेचैन बनेको थियो । आनन्दलाई दिनभर घरपरिवार आफन्तले फोन गरिरहे । ‘मोबाइलमा रिंग जान्थ्यो तर । फोन उठेन । हिजोसम्म फोन गइनै रहेको थियो’ आनन्दको दाई पर्ने रामइश्वर साहले सुनाए । यसले घरपरिवारमा थप बेचैन बनेको थियो । आनन्द पढ्ने कलेजमै उनको बहिनी पर्ने रिमा साह पनि पढ्छिन् । उनीसित घरपरिवारको कुरा हुन्थ्यो । तर आनन्दको फोन नउठ्दा घरपरिवारसंगै छिमेक डराएका थिए ।

दाई रामईश्वरका अनुसार बहिनी पर्ने रिमाले आइतबार बिहान ५ बजे आनन्दको मृत्यु भइसकेको आशयको फोन परिवारजनलाई गरेकी थिइन् । तर परिवारमाथि आघात पुग्न सक्छ भनेर उनले आनन्दको परिवारलाई घाइते भएको रउपचार हुँदै छ भनेर मात्र भन्न आग्रह गरेकी थिइन् । दिनभरि आनन्द जिउँदो छ, बाँच्न सक्छ भन्ने झिनो आशा थियो । तर साँझ ६ बजे परराष्ट्र मन्त्रालयले मतृक र घाइतेको विवरण सार्वजनिक गरेपछि आनन्दको परिवारको धैर्यताको बाँध टुटेको छ ।
आनन्दको मृत्युले परिवारमा ठूलो बज्रपात भएको छ । गाउँसमाज शोकमा डुबेका छन् ।


समाजसेवी भावना बोका आनन्द भविष्यमा अक्सिजन फैक्ट्री, सुविधासम्पन्न हस्पिटल खोलेर समाजको सेवा गर्ने सपना बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *