काठमाडौँ, १९ असोज । नेपालमा अहिलेसम्म करिब ३५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
पुस १५ गतेदेखि अहिलेसम्म करिब ३५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि भएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
यस अवधिमा डेंगुका कारण ३० जनाको मृत्यु भएको छ । अहिले डेंगुको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने कायमै रहेको महाशाखाले जनाएको छ ।
आउँदो कात्तिक महिनासम्म नै डेंगुको जोखिम रहने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु सङ्क्रमणबाट जोगिनु एक मात्र उपाय हो ।
डेंगुका मूख्य लक्षणहरू
- उच्च ज्वरो आउन
- जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
- आँखाको गेडी दुख्नु
- बेस्सरी टाउको दुख्नु
- शरीरमा राता बिमिराहरू आउनु
- वाकवाकी लाग्नु वा वान्ता हुनु
डेंगुबाट बच्ने उपायहरू:
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौँ । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौँ ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
- घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौँ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौँ ।