जनकपुरधाम, १८ असोज । आरती साहको मृत्यु घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका पति र ससुरा साधारण तारेखमा रिहा भएका छन् । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम-९ थापाचोकमा २४ वर्षीया आरती मृत अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षको जाहेरीपछि पक्राउ परेका पति मोतीबाबु साह र ससुरा मदनमोहन साह रिहा भएका हुन् ।
आरोपितहरू पुर्पक्षका लागि थुना थिए । जनकपुरधाम उच्च अदातलका मुख्यन्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति र ससुरालाई साधारण तारेखमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार खडगराज अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले असार १ मा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरिदिएको हो ।
आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । तर दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी रहँदै आएको छ । यता, छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनीलगायत तीनमहिनादेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । पीडित पक्षले न्यायको माग गर्दै संघर्ष चर्काइरहेका बेला आरोपितहरूलाई रिहा गरिएको हो ।