काठमाडौँ, १८ असोज । जनमत पार्टीको कारबाहीमा परेका नेता शिवचन्द्र कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाह बिहीबार एमालेमा प्रवेश गरेका हुन् ।
एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपीशर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका छन् ।
कुशवाह २०६४ सालमा बारा–२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य भएका थिए । उनी उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग झिनो मतले पराजित भएका थिए ।
गत साउनमा जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा कुशवाहासहित ५ नेतालाई कारबाही गरेको थियो । अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्वविरुद्ध लागेको उनीमाथि आरोप लगाइएको थियो ।