Samajik Feed – News Portal from Nepal

बाँके, १७ असोज । बाकेँको नेपालगञ्ज उपमहानगरपालिकामा बुधबार पनि कर्फ्यु जारी छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि मंगलबार दिउँसाे १ बजेबाट जारी गरिएको कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिएको हो ।

ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले संयुक्त रूपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍याली बीपीचोकबाट त्रिभुवनचोक जाने क्रममा अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति बिग्रिएको थियो । सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

प्रदर्शनीका क्रममा भएको झडपमा परी ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न आग्रह गरेको छ । केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको छ । गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर तनाव सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *