बाँके, १६ असोज । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको हो ।
नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस र्याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरिएको कार्यालयले जानकारी दिएको छ ।
केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दू र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो । मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको थियो । बीपी चोकबाट सुरु भएको पदयात्राले मुख्य बजारको परिक्रमा गरेको थियो ।
गत असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले विरोध र्याली आयोजना गरेको थियो । यता मंगलबारको दिन ओमकार परिवार हिन्दू समाजले निकालेको न्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगंज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका भएको थियो ।
यसैबीच, राप्रपाका सांसद धवलशमशेर जबराले बाँकेको नेपालगञ्जमा हिंसा भड्किन नदिन तथा घटना तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर उनले जुनसुकै हिंसा भए पनि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।