काठमाडाैँ, १५ असोज । वैदेशिक रोजगार विभागले १४ वटा मेनपावर कम्पनीलाई निलम्बन गरेको छ । विभागले वैदेशिक रोजगारीका लागि इजाजतपत्र प्राप्त संस्थाहरूले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारहरूलाई जापान पठाएको आरोपमा यी मेनपावर कम्पनीलाई निलम्बन गरेको हो ।
विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार यस कार्यमा गुड लाइफ इन्टरनेशनल इम्प्लोइमेन्ट एजेन्सी प्रालि, सत्यवति ओभसिज, डीएन इन्टरनेशनल नेपाल ओभरसिज इम्प्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि र जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिस प्रालि संलग्न रहेको पाइएको छ ।
त्यस्तै, लायन्स इन्टरनेशनल नेपाल प्रालि, भण्डारी ओभरसिज प्रालि, वल्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेशनल प्रालि, मञ्जुश्री ओभरसिज सर्भिस प्रालि, एएनएस एसोसिएट्स प्रालि, क्यापिटल इन्टरनेशनल मेनपावर प्रालि, ग्राण्ड सुइट जब प्रालि र ओक्सन इन्टरनेशनल प्रालिसमेत यस कार्यमा संलग्न रहेको पाइएको विभागले जानकारी दिएको छ ।
सोबारे विभागमा उजुरी परेको थियो । विभागको प्रारम्भिक अनुसन्धानबाट तपशिलका संस्थाहरू सो कार्यमा संलग्नता भएको देखिएको आधारमा वैदेशिक रोजगार ऐनअनुसार निलम्बन गरी थप अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राख्ने विभागले जनाएको छ ।
