Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १४ असोज । माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल विजयी भएको छ । तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपाल १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनलमा पुगेको हो । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए । उनी अभिनाश बोहराको छैटौँ ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे । अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे । सातौँ ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराउँदै सहज जितको आधार तय गरेका थिए ।

नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । उनी टी २० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए । त्यस्तै नेपालबाट माल्दिभ्सविरुद्ध सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक हानेका युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । कुशललाई नेपालले आज सातौँ नम्बरमा खेलाएको थियो । नेपालले आज अन्य खेलाडीलाई मौका दिएको थियो ।

दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए । ओपनर आसिफ शेख ६ रनमै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए ।

पाँचौँ विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नाजवानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएका छन् । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ । क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरू मंगलबार र बुधबार हुनेछन् भने शुक्रबार सेमिफाइनल र शनिबार फाइनल हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *