जनकपुरधाम, १२ असोज । आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरूले जनकपुरधाममा पनि प्रदर्शन गरेका छन् । चिकित्सकहरूमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरूले शुक्रबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले अस्पताललाई शान्ति क्षेत्र बनाउनुपर्ने, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामासमेत माग गरेका थिए । उपचारका क्रममा विभिन्न स्थानमा डाक्टरहरूमाथि कुटपिट हुनु दुखद भएको पनि उनीहरूले बताएका छन् । पोखराको मणिपाल अस्पताल, चितवन लगाएतका स्थानमा चिकित्सकमाथि हातपात भएपछि उनीहरू आन्दोलित भएका हुन् ।