Samajik Feed – News Portal from Nepal

हाङझाउ, १० असोज । १९ औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो । जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ३१४ रनको योगफल खडा गरेको थियो ।

यो योगफल कुनै पनि राष्ट्रले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ । जितका लागि ३१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रन मात्र बनाउन सक्यो ।

मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए । त्यसअघि नेपालका कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित १३७ रन बनाएका थिए । मंगोलियाविरुद्ध ३४ बलमै शतक पूरा गरेका कुशल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने क्रिकेटर बने ।

यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन ब्याटरले ३५ बलमा शतक बनाएका थिए । यसबाहेक, कप्तान रोहितकुमार पौडेलले २७ बलमा दुई चौका र ६ चौकासहित ६१ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १० बलमा ५२ रन बनाए । दीपेन्द्रले नौ बलमै अर्धशतक पूरा गर्दै कीर्तिमान बनाएका थिए ।

दीपेन्द्र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने क्रिकेटर बनेका हुन् । ओपनरद्वय कुशल भुर्तेल र आसिफले क्रमशः १९ र १६ रन जोडे । मंगोलियाका लुभसान्जुडुइ एर्डेनेबुल्गान, दाभासुरेन जमयानसुरेन र मुगुन अल्तानखुयागले समान एक विकेट लिए । नेपालले अब समूह ए मा आइतबार माल्दिभ्सविरुद्ध दोस्रो खेल खेल्नेछ ।

नेपालले एउटै खेलबाट बनायो दर्जनभन्दा बढी कीर्तिमान :

दीपेन्द्रसिंह ऐरीको ९ बलमा अर्धशतक: दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् । उनले १२ बलको विश्व कीर्तिमान पनि भंग गरेका हुन् । यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । दीपेन्द्रले १९ औँ ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए । अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाएका छन् ।

टी–२० मा सर्वाधिक छिटो शतक: कुशल मल्लको ३४ बलमा शतक टी–२० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए ।

ओडीआई र टी–२० आई दुबैमा छिटो शतक: कुशल नेपालबाट ओडीआई र टी–२० आई दुबैमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । टी २० आईमा उनले ३४ र ओडिआईमा गत मार्चमा ओमानविरुद्ध ५९ बलमा शतक पूरा गरेका थिए । यसअघि टी–२० आईमा पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक हानेका थिए । ओडीआईमा कुशलले तोड्नु अघि रोहित पौडेलले पपुवा न्युगिनीविरुद्ध २०२२ मा ९१ बलमा हानेका थिए ।

कुशल एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर: कुशल नेपालबाट कुनैपनि एक अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । कुशलले रोहित पौडेलको २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध बनाएको १ सय २६ रनको कीर्तिमान तोडेका हुन् ।

दीपेन्द्र ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी: दीपेन्द्र ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । १९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि मंगोलियाका अल्ताङ्खुयाग मुनगुनलाई लगातार पाँच छक्का हानेका थिए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

कुशल १२ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी: कुशलले मंगोलियाविरुद्ध कुल १२ छक्का प्रहार गरे । उनी कुनैपनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटर हुन् । गत अप्रिलमा कुशलले ओडीआईमा ओमानविरुद्ध १० छक्का हानेका थिए । आफ्नो उक्त कीर्तिमान तोडेका हुन् । टी– २० आईमा २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का हानेका थिए ।

नेपाली ब्याटरको उच्च साझेदारी: तेस्रो विकेटका लागि कुशल र रोहितले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो विश्व कीर्तिमानी साझेदारी हो । नेपाली ब्याटरले गरेको यो कुनैपनि खेलको उच्च साझेदारी हो । यसअघि ओडीआईमा गत जुनमा जिम्बावेविरुद्ध आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए । टी– २० आईमा २०१९ मा आरिफ शेख र पारस खड्काले १ सय ४५ रनको साझेदारी दोस्रो विकेटका लागि गरेका थिए ।

नेपालको उच्च योगफल : यो नेपालले बनाएको उच्च योगफल हो । यसअघि टि२० आईमा नेपालले २०२१ मा मलेसियाविरुद्ध २ सय ३८ र ओडिआईमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो । ओडिआईमा उच्च जित गत मार्चमा युएईविरुद्ध १ सय ७७ रन थियो । टि२० आईमा २०२१ मा नेदरल्यान्ड्सविरुद्ध १ सय ४३ रनको जित थियो ।

तेस्रो विकेटका लागि विश्व कीर्तिमान: कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि२० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।

टी–२० आईमा सर्वाधिक फराकिलो जित : नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।

एकै खेलमा इनिङमा सर्वाधिक छक्का: नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि२० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

नेपाल टी–२० आईमा ३ सय रन बनाउने पहिलो टोली: नेपाल टी–२० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टी–२० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो । त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो । महिला टि२० आईमामा भने बहराइनले २०२२ मा साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध २०१९ मा ३ सय १४ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *