काठमाडाैँ, ७ असाेज । बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मा.वि. भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरूद्ध मुद्दा दायर गरेको छ ।
उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोप छ ।
अनुसन्धानका क्रममा प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीलाई स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम भुक्तानी दिएको खुलेको हो । परिणामभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकमको हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ ।
यस्तै जनता मावि भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको र नगरपालिकासँग भएको सम्झौता बमोजिम शर्त पालना नगरी स्वीकृत भएकोभन्दा बढी रकम भुक्तानी लिएको अख्तियारले ठहर गरेको छ।
यसरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो रकम कायम गरी कैद सजायको मागदाबी समेत गरेको छ।