Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ५ असोज । विद्यालय शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्ने मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ परेका छन् ।

अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरू विरोधमा उत्रिएका थिए ।

शिक्षकहरू संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गर्दै आएका छन् । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ ।

उनीहरूले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर्नुपर्ने, शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने माग पनि गरेका छन् । त्यसैगरी शिक्षकहरूले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्नुपर्ने पनि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *