Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ४ गते ।

सरकार र आन्दोलनरत शिक्षकहरुबीच भोलि औपचारिक वार्ता हुने भएको छ । बिहीबार विहान र साँझ दुई चरणमा मन्त्रीहरुसँग छलफल भए पनि निष्कर्ष लाग्न सकेन ।

साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग पनि शिक्षक प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

छलफलमा शिक्षकका सबै मागको विषयमा छलफल भएको कानुनमन्त्री धनराज गुरुङले बताए । ‘उहाँहरुले जुन माग तेस्र्याउनुभएको थियो, त्यसमै केन्द्रित भएर छलफल भयो । भोलि विहान टुंगिन्छ’ उनले भने । शुक्रबार विहान ८ बजे बैठक बोलाइएको मन्त्री गुरुङले भने ।

बिहीबार साँझ भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले सरकारले औपचारिक रुपमा पत्र पठाएर आफूहरुलाई वार्तामा नबोलाएकाले सो छलफललाई औपचारिक मान्न नमिल्ने बताएका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षकको मागका सबैजसो बुँदामा छलफल भए पनि औपचारिक वार्ता नभएको बताए ।

सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेपछि विधेयकमा रहेको प्रावधानप्रति आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलन घोषणा गरेको हो ।

महासंघले अघि सारेको १७ बुँदे माग पूरा हुनुपर्ने भन्दै देशभरका शिक्षक बुधबारदेखि काठमाडौंमा प्रदर्शनरत छन् । शिक्षकहरुको आन्दोलनका कारण सरकारी विद्यालयमा पढाइ बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *